'बाटामा भेटिएको १७ हजार - TopicsExpress



          

'बाटामा भेटिएको १७ हजार बुझाउँदा ४ हजार इनाम !' ========================== १९ असार, काठमाडौं । ललितपुर ग्वार्को डेरा गरी बस्ने सिन्धुलीका नारायण पहाडी सोमबार बेलुकी कोठा र्फकंदै हुनुहुन्थ्यो । कोठा नजिक पुग्ने बेला सडक छेउमा एउटा सानो कालो वस्तु देख्नुभयो । अलि पर पुगेपछि उहाँलाई लाग्यो, पक्कै यो पर्स हुनुपर्छ । अनि उहाँ र्फकनुभयो । नभन्दै पर्स नै रहेछ । वरपर हेर्नुभयो, कोही छैनन् । लोडसेडिङले सबैतिर अन्धकार छ । अनि पर्स गोजीमा हालेर कोठामा पुग्नुभयो । कोठामा पुगेर हतारहतार पर्स खोल्नुभयो । नगद साढे १२ हजार, ५ हजारको चेक, एटीएम, नागरिकता र सवारी लाइसेन्स रहेछ । नागरिकता, लाइसेन्स र एटीएममा इमाडोलका राजन सुवेदीको नाम थियो । बाटोमा भेटेको यतिका रुपैंया आफैंसँग राख्न नारायणको मनले मानेन । जसको हो, उसैलाई फिर्ता दिन पर्यो भन्ने उहाँलाई लाग्यो । कतै फोन नम्बर छ कि भनेर हेर्नुभयो । तर, भेटिएन । त्यो रात त्यसै सुत्नुभयो । भोलिपल्ट अर्थात बुधबार बिहानदेखि फेरि उहाँले पर्स धनी राजनको नम्बर पत्ता लगाउन कोशिस गर्नुभयो । एटीएममा उल्लेख भएको बैंकको फोन नम्बरमा फोन गरेर सोध्नुभयो । तर, थाहा भएन । पर्समा एउटा सानो कागजमा कसैको नम्बर रहेछ । त्यहाँ फोन गर्दा बल्ल राजनको नम्बर पत्ता लाग्यो । राजनलाई फोन गरेपछि उहाँले तपाईंको केही हराएको छ भनेर सोध्नुभयो । अघिल्लो रात पर्स हराएर चिन्तामा परेका राजनले दंग पर्दै हो भन्नुभयो । त्यसपछि कति, के छ भनेर सोध्दै जाँदा पर्स राजनकै रहेछ भन्ने कुरा नारायणलाई पक्का भयो । त्यसपछि दुईजनाको भेट्ने सल्लाह भयो । आफूले भेटेको पर्स सोधीखोजी गरेर पर्सधनीलाई बुझाउन लागेको कुरा यत्तिकै टार्न नारायणलाई मन लागेन । उहाँले केही सञ्चारमाध्यम र सञ्चारकर्मीलाई फोन गरेर घटना विवरण सुनाउनुभयो । तर, एकपटक अनुजा बानियाँको काण्ड भोगेका पत्रकारले नारायणको कुरा सहजै विश्वास गरेनन् । दुवैजना उपस्थित भएर कुरा प्रष्ट राखेपछि मात्रै नारायणको इमान्दारिता पुष्टि भयो । ‘उहाँ त मेरो लागि भगवान नै हो’ राजनले अनलाइनखबरसित भन्नुभयो-’मजदूरी गरेर खाने मेरा लागि १७ हजार रुपैंया ठूलो कुरा हो, त्यसमाथि नागरिकता र लाइसेन्स समेत थियो ।’ हराएको पर्स भेटेर गदगद भएका राजनले नारायणलाई उतिखेरै चारहजार रुपैंया इनामसमेत दिनुभयो । ‘भो भो पर्दैन लिन्न भनेको, मरिगए मान्नुभएन’ राजनले अनलाइनखबरसित भन्नुभयो-’१७ हजार त फिर्ता गरें, यो चार हजार लिन मन नै थिएन, उहाँले राख्न नमानेपछि लिन कर लाग्यो ।’
Posted on: Wed, 03 Jul 2013 16:00:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015