कूटनीतिक लज्जा - TopicsExpress



          

कूटनीतिक लज्जा ========== जिम्मेवारी सम्हाल्नुपूर्व विवादित कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई राजीनामा फिर्ता बोलाउन सिफारिकर्ता पार्टी एमाओवादीले शुक्रबार सरकारलाई निर्देशन दियो । कूटनीतिक क्षेत्रको सामान्य जानकारीसमेत नभएकालाई राजदूत बनाइनु हुन्न भन्ने आवाजलाई अस्वीकार गरी राजनीतिक भागबन्डामा शर्माको सिफारिस हुन पुगेको थियो । जुनसुकै पार्टीबाट सिफारिस भए पनि वा परराष्ट्र मन्त्रालयकै सेवाबाट गए पनि, राजदूत भइसकेपछि एक मात्र स्वार्थ हुनुपर्छ, आतिथ्य प्रदान गर्ने राष्ट्रसँग असल सम्बन्ध राखी मुलुकको अन्तर्राष्ट्रिय छवि बढाउने । देशको प्रतिनिधिका रूपमा राजदूतले राष्ट्रिय स्वार्थ र त्यो मुलुकमा रहेका नेपालीको हितलाई जहिले पनि उच्च प्राथमिकतामा राख्नुपर्छ । तर राजदूत शर्माले संसदीय सुनुवाइदेखि देखाएको अकूटनीतिक क्षमता र शैली दोहास्थित नेपाली दूतावाससम्म पुग्दा छताछुल्ल भयो । राष्ट्रिय स्वार्थभन्दा निहित व्यक्तिगत स्वार्थलाई प्रधान ठानेर कार्यसम्पादन गरेकी उनले सार्वजनिक सञ्चारमाध्यमबाटै ँकतार नेपाली कामदारका लागि खुला जेल’ भएको अभिव्यक्ति दिइन् । राजदूतको यस्तो गम्भीर र संवेदनाहीन अभिव्यक्तिले उनी मात्र होइन, नेपालको कूटनीतिक क्षमतासमेत विवादमा तानियो । राजदूतको यो तहको अभिव्यक्ति राष्ट्रिय लज्जाको विषय थियो । त्यस बेलै उनलाई राजदूतको जिम्मेवारीबाट हटाउनुपथ्र्यो । उक्त अभिब्यक्तिपछि त्यति बेलै काठमाडौंस्थित कतार दूतावासले परराष्ट्र मन्त्रालयसमक्ष औपचारिक रूपमा आपत्ति जनाएको थियो । तर तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सिफारिसमा नियुक्ति भएकी उनीद्वारा गिराइएको नेपालको अन्तर्राष्ट्रिय तस्बिरप्रति एमाओवादीले मौनता प्रदर्शन गरी विदेश नीति महत्त्वहीन भएको छनक दिएको थियो । राजदूतका अभिव्यक्तिलाई लिएर ँहोस्ट’ मुलुकले औपचारिक असन्तुष्टि राख्नुको गम्भीरतालाई एमाओवादीले त बुझेन, परराष्ट्र मन्त्रालयसमेत उन्मुक्ति दिनमै लाग्यो । आपत्तिजनक र कूटनीतिक मर्यादा/शिष्टाचार विपरीतका अभिव्यक्ति, व्यवहार एकपछि अर्को विवादमा परे । कतिसम्म भने कतार परराष्ट्र मन्त्रालयले शर्मासँग एक नेपाली सञ्चार टोलीको ँअनधिकृत’ कतार प्रवेशबारे स्पष्टीकरण सोेध्यो । उक्त प्रकरण सेलाउन नपाउँदै शर्माले आफूविरुद्ध लेख्ने पत्रकारलाई कतारबाट निकाला गर्न समेत त्यहाँको परराष्ट्र मन्त्रालयलाई पत्र लेखिन् । राजदूतका गलत कामकारबाहीलाई उदाङ्गो पारेकै कारण व्यक्तिगत प्रतिशोधमा उनी उत्रेकी थिइन् । अर्थात् यस्ता आधा दर्जन कूटनीतिक मर्यादाबाहिरका अभिव्यक्ति र व्यवहारले गर्दा राष्ट्रको छविमाथि नै प्रश्न उठेको थियो । डेढ वर्षअघि राजनीतिक कोटामा आएकी शर्माका कामकारबाहीप्रति दोहास्थित मिसनका कर्मचारीहरूसमेत सन्तुष्ट थिएनन् । हुुँदाहुँदा असह्य भएपछि कतार सरकारले राजदूत शर्मालाई फिर्ता बोलाउन औपचारिक रूपमै बुधबार नेपाल सरकारलाई चेतावनी दिएपछि बल्ल एमाओवादीले गम्भीरता महसुस गर्‍यो । त्यस्तो चेतावनीलगत्तै पार्टीको पदाधिकारी बैठक उनलाई हटाउने निर्णयमा पुग्यो । पार्टीको निर्णयलाई मानी राजदूत शर्माले तत्काल राजीनामा दिनुपर्छ । नेपालको कूटनीतिक इतिहासमा आफ्नो सिफारिसमा नियुक्त भएका राजदूतलाई सम्बद्ध पार्टीले राजीनामा गराउने निर्णय गरेको यो पहिलो घटना हो । राष्ट्रको आधिकारिक प्रतिनिधित्व गर्ने भएकाले कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिले राजदूत र कूटनीतिक मिसन प्रमुखलाई कतिपय कूटनीतिक उन्मुक्ति दिएको हुन्छ किनकि राजदूत वा तोकिएको जिम्मेवार कूटनीतिज्ञले अधिकारको दुरुप्रयोग गर्ने कल्पनासमेत गर्दैन । तर राजदूत शर्माले नेपाल र कतारबीचको सम्बन्धलाई नै दाउमा लगाइन् । राजदूत शर्माको कूटनीतिक मर्यादाबाहिरका यी व्यवहारले उठाएका केही मुद्दामध्ये एउटा नियुक्तिको योग्यता र आधारसँग जोडिन्छ । राजदूत नियुक्तिमा परराष्ट्र सेवाभित्र र बाहिरबाट नियुक्ति विवादको विषय बने पनि पछिल्लोपटक झन्डै ६० प्रतिशत सेवाबाटै र ४० प्रतिशत राजनीतिक नियुक्ति हुने गरेको देखिन्छ । नियुक्तिको यो अभ्यास आफैंमा गलत छैन । राजनीतिक नियुक्ति हुन् वा परराष्ट्रसेवाबाट, योग्यता र क्षमता भएका व्यक्तिलाई नियुक्ति गर्नुपर्छ । राजनीतिक नियुक्ति हुँदा सम्बद्ध दलले योग्य र सक्षमलाई सिफारिस गर्नुपर्छ । त्यसो भएमा राजदूतावासबाट देशको प्रतिनिधित्व हुन्छ । अन्यथा यस्ता लज्जा देशले फेरि बेहोर्नुपर्ने हुन्छ ।
Posted on: Sun, 22 Sep 2013 11:00:13 +0000

Trending Topics



Recently Viewed Topics




© 2015