क्यान किन बनाउँदैन नेपाल - TopicsExpress



          

क्यान किन बनाउँदैन नेपाल ‘ए’ ? अहिले नेपाली क्रिकेटमा क्षमतावान खेलाडीको अभाव छैन । तर नियमित घरेलु क्रिकेट नहुँदा र राष्ट्रिय टोलीमा अवसर नपाउँदा प्रतिभा त्यसै मर्ने खतरा छ । अझ लामो समयसम्म राम्रो खेलेर पनि राष्ट्रिय टोलीमा नपर्दाको निरासाले धेरै क्षमतावान खेलाडी पलायन हुने खतरा छ । अहिले पनि नेपाली क्रिकेटलाई महत्वपूर्ण योगदान दिनसक्ने क्षमतावान खेलाडीले अवसार पाएका छैनन् । धेरै भन्दा धेरै खेल खेलेर आफुलाई निखार्ने बेला उनीहरु कहिले राष्ट्रिय प्रतियोगिता आउला भनेर पर्खन बाध्य छन् । एउटै राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई वटा शतक हान्ने अमित श्रेष्ठदेखि, भुवन कार्की, विनोद लामा, पुष्प थापा, फैजरुल रहमान, निश्चल पाण्डे, अमृत भट्टराई र महबुब आलमसम्मका खेलाडीले कुनै मौका पाउन सकेका छैनन् । नुरध्वज सेन, आकाश विष्ट, कालिचरण यादब, दिपेन्द्र चन्द, जगदिश चन्द जस्ता क्रिकेटको संभावना बोकेका युवा ट्यालेन्टेटहरु ५ रुपैयाँ बाजी राखेर साथीभाईसँग खेल्नमै सीमित छन् । स्मरणीय रहोस् केही बर्षअगाडि मलेसियामा भएको १६ बर्ष मुनिको एलिट कपमा आकाश विष्ट प्रतियोगिताको उत्कृष्ट खेलाडि र नुरध्वज सेन उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । क्यानले सोच्नु पर्ने बेला आएको छ के अब १५ जना राष्ट्रिय खेलाडीलाई तालिम दिएर र केही अन्तराष्ट्रिय प्रतियोगिता खेलाएर मात्र हाम्रो क्रिकेट सपना पुरा होला त ? कुनै खेलाडी घाइते भए वा खेल्न नसक्ने भए विकल्प खोई ? अनि अहिलेका खेलाडीको रिटायर्डमेन्टपछिको हाम्रो क्रिकेट कस्तो होला ? हो अब राष्ट्रिय टोलीमा पर्न नसकेका हाम्रा क्षमतावान क्रिकेटरलाई अवसरको खाँचो छ । त्यसको लागि क्षेत्र थपेर बर्षको एउटा राष्ट्रिय प्रतियोगिता मात्र खेलाएर सम्भव छैन । क्षेत्र थप्नु सकारात्मक त छ नै, सँग सँगै अब नेपाल ‘ए’ टिम पनि घोषणा हुनुपर्छ । जसलाई बर्षभरि नै तालिम र प्रतियोगिताको अवसर दिनुपर्छ । राष्ट्रिय टोली व्यस्त भएको बेला पनि ए टिमलाई भारतका विभिन्न स्थानिय प्रतियोगिता खेलाउनुपर्छ । जसले गर्दा हाम्रा कुनै पनि खेलाडीले अर्को खेलाडीलाई विस्थापन गर्ने क्षमता राखुन् । भारतमा बर्षभरि हुने प्रतियोगिताकै कारण क्षमतावान खेलाडिको अभाव छैन । तर हाम्रोमा एउटा पारस, वा ज्ञानेन्द्र वा बसन्त वा शक्ति टिम बाहिर हुने अवस्था रहे उनीहरुको अभावको प्रत्यक्ष प्रभाव पर्ने अवस्था छ । त्यसमा खेलाडी हैन क्यान दोषी छ । जसले सम्भावना बोकेका खेलाडीलाई बर्षको एउटा मात्र प्रतियोगिता खेलाएर निरुत्साहित गर्छ । हामीभन्दा पछाडि क्रिकेट खेल्न थालेर, हामीभन्दा माथि पुगेको अफगानिस्तानसँग आज ‘ए’ टिम छ । यूएइ, हङ्कङ्, आयरल्याण्ड, स्कटल्याण्ड, क्यानडाजस्ता अबका हाम्रा प्रतिद्धन्द्धी देशहरुसँग पनि ‘ए’ टिम छ । तर किन अहिलेसम्म क्यानले ‘ए’ टिम बनाउन पहल गरेन ? यो गम्भिर प्रश्न हो । अझै पनि ढिला भएको छैन । तर नेपाली क्रिकेटको विकास चाहने हो भने नेपाल ‘ए’ बनाएर नयाँ खेलाडीलाई अवसर दिने र व्यस्त राख्नुपर्छ । बर्षमा दुई पटक छुट्टाछुट्टै शैलीको क्रिकेटमा राष्ट्रिय टोली र ‘ए’ टिमवीच सिरिज खेलाउनु पर्छ । तब मात्र क्रिकेटमा नयाँ सम्भावना थपिने छ । जय क्रिकेट ।
Posted on: Tue, 06 Aug 2013 13:36:24 +0000

Trending Topics



Recently Viewed Topics




© 2015