डाटा अन पैसा अफ ============= - TopicsExpress



          

डाटा अन पैसा अफ ============= काठमाडौ, पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराएको मोबाइल तथा इन्टरनेट सेवा चर्चामा छ। विशेषतः तीव्र गतिमा इन्टरनेट चलाउन, डाटा अपलोड र डाउनलोड गर्न, वेबसाइट ब्राउज गर्न तथा युट्युबमा भिडियो हेर्न टेलिकमको मोबाइलबाट सहज भएपछि यसका प्रयोगकर्ता निकै हौसिएका छन्। टेलिकमले हाल पुराना बिटिएस टावर विस्थापन गरी नयाँ टावर राख्ने कार्य गरिरहेको छ। टेलकमले जेडटिई कम्पनीका पुराना टावर विस्थापन गरी हुवावे कम्पनीका बिटिएस टावर राखेको हो। यसो गर्दा काठमाडौंमा मात्रै करिब २० लाख थि्रजी प्रयोगकर्तालाई सेवा दिने गरी क्षमता विस्तार गर्ने र केही महिनामै काठमाडौंमा करिब ५ लाख ग्राहक पुर्‍याउने योजना टेलिकमको छ। हाल थि्रजी प्रयोगकर्ताको संख्या १ लाख ३० हजारको हाराहारी छ। मोबाइल र डाटा सेवाको यो गुणस्तर अभिवृद्धि योजना सफल भएपछि यसबाट हुने आम्दानी हालको तुलनामा तीन गुणासम्म बढ्ने कम्पनीको प्रक्षेपण छ। यसको सकारात्मक असर पनि देखिन थालेको छ। पहिले नेपाल टेलिकमको जिएसएम मोबाइलमा भएको डाटा कनेक्सन स्पिड अलि कम भएकाले धेरैले एनसेलको सीम प्रयोग गरेको पाइन्थ्यो। एनसेलका प्रयोगकर्ता डाटा स्पीडबाट खुसी त थिए, तर धेरै पैसा काटिएको गुनासो भने गरिरहन्थे। पछिल्लो समयमा टेलिकमको डाटाका बारेमा पनि कसैले नबुझेरै त्यस्तो गुनासो गर्ने गरेको सम्बद्ध स्रोतको भनाइ छ। स्मार्ट फोनहरूमा यदि डाटा कनेक्सन अन छ भने मोबाइल सेटमा भएका विभिन्न एप्लिकेसनले सिस्टममा अटो कनेक्ट गरी अपडेट गर्न सक्ने हुनाले चार्जिङ भैरहेको हुनसक्छ। यस्तो समस्याबाट जोगिन डाटा प्रयोग नभएका बेला आफ्नो मोबाइलको डाटा कनेक्सन बन्द गर्नुपर्छ। यो कुरा धेरै स्मार्टफोन प्रयोगकर्तालाई जानकारी हुँदैन। यसले गर्दा उनीहरू टेलिकम कम्पनीहरूले अनावश्यक रूपमा धेरै पैसा काट्छन् भनेर आरोप लगाउँछन्। यो कुरामा रमन श्रेष्ठ पनि सहमति जनाउँछन्। उनले फेसबुक पेजमा यसका बारेमा आफ्नो धारणा राखेका छन्। स्मार्टफोनमा पनि विशेष गरी एन्ड्रोइड युजरहरूले यो कुराको अनुभव गरेको उनले बताएका छन्। यसमा हुने इन्स्ट्यान्ट नोटिफिकेसनजस्ता विभिन्न एप्स अटो अपडेट भैरहेका हुन्छन् र तिनमा ब्याकग्राउन्ड डाटा प्रयोग भैरहेको हुन्छ। वास्तवमा कम्पनीहरूले आवश्यक रकम नै काट्ने हुन् र त्यसका लागि आफैंले डाटा प्रोसेसिङका बारेमा राम्रो जानकारी राख्नुपर्छ। डाटामा धेरै पैसा नकाटिने बनाउन स्मार्टफोनमा रहेका ब्राउजरबाट डाटा चलाउनु राम्रो हुन्छ। स्मार्टफोनमा राखिएका डिफल्ट ब्राउजरभन्दा अपेरा मिनी जस्ता लाइट भर्सनका ब्राउजर चलाउन सकिन्छ। त्यसैगरी उक्त तस्बिरलाई अफ गरी तस्बिर हेर्नै परे म्यानुअल क्लिक गरी हेर्न सकिन्छ। त्यसबाहेक एनिमेसन पनि अफ गर्न सकिन्छ। ब्याकग्राउन्ड डाटा युज गर्ने एप्लिकेसनलाई टर्न अफ गर्नु पर्छ। एनक्यु सेक्युरिटीजस्ता डाटा कति गतिमा चलिरहेको छ र कुन दिन कति प्रयोग गरियो भनेर हेर्न मिल्ने एप्स प्रयोग गर्न सकिन्छ। कुल इन्टरनेट प्रयोगकर्तामध्ये मोबाइलमै इन्टरनेट अर्थात् जिपिआरएस चलाउनेहरू ९० प्रतिशत भन्दा बढी छन्। खासगरी फेसबुक र टि्वटर जस्ता साइटको लोकपि्रयताले यसमा बढी भूमिका खेलेको छ। दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले विदेशबाट आउने कल अर्थात आईएसडीबाट पनि प्रशस्तै राजस्व आर्जन गर्छन्, तर पछिल्लो समयमा स्काइप, भाइबर, गुगल टक, ह्वाट एप्स, विच्याट आदि एप्स प्रयोग गरी निःशुल्क रूपमा आईएसडी कल गर्न पाइने भएको छ। यसले गर्दा अब आईएसडीबाट प्राप्त हुने राजस्व पनि घट्दै जानेछ। यद्यपि ती सबै एप्स चलाउन भने इन्टरनेट अर्थात डाटा सेवा आवश्यक छ। यसले गर्दा पनि डाटा सेवाको आवश्यकता जता पनि छ भन्न सकिन्छ। यही कुरालाई ध्यान दिएर कम्पनीहरूले डाटा सेवामा बढी नै ध्यान दिन थालेका छन्।
Posted on: Wed, 18 Sep 2013 13:27:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015